Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बहुविवाह गर्ने डिएसपी नेपाल जेल चलान, कान्छी श्रीमती धरौटीमा रिहा

बहुविवाहको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल कारागार चलान भएका छन् । असई समेत रहेकी उनकी कान्छी श्रीमती गिता पुरी भने ३० हजार रुपैयाँ धरौटीमा छुटेकी छिन् । जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश चाणकमणि अर्यालको इजलासले शुक्रबार डिएसपी नेपाललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

जेठी श्रीमती तारा खनालको जाहेरीका आधारमा डिएसपी नेपाल तीन साताअघि पक्राउ परेका थिए। उनी जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए।बिहीबार मुद्दा दायर भएकोमा शुक्रबार बयान र थुनछेकपछि अदालतले उनलाई थुनामा पठाएको हो। बयानको क्रममा भने उनले जेठी श्रीमतीकै सल्लाहमा सन्तानका लागि आफूले दोस्रो बिहे गरेको दाबी गरेका छन्।

डीएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए । बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए ।प्रहरी निरीक्षकमा निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए ।