Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियान : जोखिम घट्दो

बाँके जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय बाँकेले पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रमले जिल्लामा द्वन्द्वका घटनामा उल्लेख्य कमी ल्याएको कार्यालयले जनाएको छ ।

सिनियर डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्वका एक दर्जनभन्दा बढी घटना दर्ता भएका छन्, जसमा अधिकांश घटनालाई समयमै उद्धार र व्यवस्थापनमार्फत नियन्त्रणमा लिन सफल भएको कार्यालयको दाबी छ । गुप्ताका अनुसार जोखिमयुक्त क्षेत्रमा फायर लाइन निर्माण, सोलार फेन्स जडान, नियमित उद्धार टोली परिचालन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।

यी कार्यहरूले वन्यजन्तु बस्तीमा पस्ने जोखिम घटाएको र स्थानीय समुदायमा सचेतना बढाएको उनको भनाइ छ । द्वन्द्वका कारण ज्यान गुमाएका वा घाइते भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत वितरणको प्रक्रिया पनि निरन्तर भइरहेको बताउँदै उनले कानुनी प्रक्रिया र कागजी झन्झटका कारण कतिपय अवस्थामा ढिलाइ हुने गरेको स्वीकार गरे। उनले मानव–वन्यजन्तु द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय समुदाय, सामुदायिक वन, स्थानीय सरकार तथा सुरक्षानिकायसँग सहकार्यलाई अझ मजबुत बनाइएको जानकारी दिए ।

गुप्ताले भने, ‘समुदायको सहभागिता बिना संरक्षण सम्भव हुँदैन, त्यसैले स्थानीय बासिन्दालाई संरक्षणको साझेदार बनाउँदै अघि बढिरहेका छौँ ।’ आगामी दिनमा थप सोलार फेन्स विस्तार, सूचना प्रणाली सुदृढीकरण, उद्धार टोलीलाई थप प्रभावकारी बनाउने तथा जोखिमयुक्त क्षेत्रको वैज्ञानिक अध्ययन गर्ने योजना रहेको उनले बताए । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय सुदृढ गर्दै बजेट, जनशक्ति र प्रविधिको उचित प्रयोग भए मानव–वन्यजन्तु द्वन्द्वलाई धेरै हदसम्म नियन्त्रणमा ल्याउन सकिने गुप्ताको विश्वास छ ।