Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

किसान कागतीखेतीतर्फ आकर्षित, वर्षमा कति कमाउँछन् ?

पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो । 

जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि कुहिएर खेर जान थालेको किसान बताउँछन् । कागतीको चुकसमेत बिक्री नहुँदा लगानी खेर जाने चिन्ता बढेको निसीखोलाका किसान पर्वत घर्तीले बताए । गत वर्ष दुई सय किलोभन्दा बढी कागती कुहिएर नष्ट भएको भन्दै यसपाली पनि बिक्री नहुँदा कुहिने डर भएको उनको भनाइ छ । 

बजारमा आउने भारतीय कागतीले स्थानीय उत्पादनलाई ओझेलमा पारेको घर्तीले बताए । “सडकसँगै सवारीसाधनको सुविधा पुगेपछि कागतीको माग बढ्छ भन्ने लागेको थियो । सोही कारणले व्यावसायिक रूपमा खेती गरियो, दुई तीन वर्षदेखि प्रशस्त उत्पादन हुँदै आए पनि बजार नपाउँदा कुहिएर खेर जाने गरेको छ”, उनले भने । किसानद्वारा उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारले गरेमा समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । 

“पश्चिम बागलुङको मुख्य बजार बुटवल हो । तर बुटवलमा भारतीय कागतीको दबदबा छ”, किसान चमबहादुर रोकाले भने, “अघिल्लो वर्ष तयार गरेर राखेको करिब एक सय ५० लिटर चुक अहिलेसम्म बिक्री भएको छैन ।” अहिले पनि बोटमा लटरम्मै कागती फलेका भन्दै कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको उनलरे बताए ।

रोकाका अनुसार कागतीको रसलाई प्रतिलिटर रु एक हजारदेखि रु एक हजार २०० सम्म बिक्री गर्ने गरिएको छ । पछिल्लो समय भने माग आउन छाडेकाले बिक्री नभएको उनकाे भनाइ छ । उनले भने, “मकै, गहुँ र कोदो फल्ने बारीमा कागती लगाइयो, अहिले उत्पादन भएको कागतीले बजार पाउँदैन । राम्रै आम्दानी हुन्छ भनेर कागतीखेती गरियो तर अहिले बजार नपाउँदा समस्या भयो । सुपथ मूल्यमै दिँदा पनि अर्गानिक कागती व्यापारीले राख्दैनन् ।”

बागलुङ जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा बर्सेनि चार हजार ७१ मेट्रिकटन कागती उत्पादन हुँदै आएको छ । 

यस वर्ष जरा कुहिने रोगले बोट मर्दा उत्पादनमा गिरावट आउने सम्भावना देखिएको कृषि विकास कार्यालयकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिए । उत्पादित कागतीको बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्नुपर्नेमा उनले जाेड दिए ।