Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास

आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आएकाे छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आएको हो । 

एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेको हो ।

मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा रु तीन करोडको लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा रु तीन करोडको कारोबार हुने गरेको उनले जानकारी दिए।

फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु तीन करोड आम्दानी हुने उनको भनाइ छ । “फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ । तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु”, उनले भने । लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश भएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बझेको थियो ।

जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जो–कोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ ।

फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताए । उनका अनुसार फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन् । फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उनले जानकारी दिए । 

विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो । फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिएको छ ।

सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर रु एक करोडभन्दा बढी बचत हुने गरेको जानकारी दिए । हाल रेम्बो ट्राउट प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ ।