Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

चोरी गरेको ६५ लाख रकमसहित एक जना पक्राउ

दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो । केसी सोमबार राति मात्र काठमाडौँबाट घर फर्किएका हुन् । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । 

काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभर निगरानी गरेको थियो । केसीलाई आज सो रकमसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।