विद्यालयहरुले क्रिसमसलाई प्राथमिकता दिंदा मौलिकता गुम्दैछ
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवम अभियन्ता राजानन्द माण्डब्यले नेपालका नीजि विद्यालयहरुले पश्चिमा संस्कृति एवम क्रिसमस पर्वलाई प्राथमिकता दिंदा मौलिकता गुम्ने खतरा रहेको औंल्याएका छन् । वाह्य धर्म, संस्कार र संस्कृतिलाई विद्यालयहरुले विशेष प्राथमिकता दिंदा मौलिक संस्कार र संस्कृति गुम्दै गएको दाबी गरे ।
‘यतिबेला वैदिक सनातनी राष्ट्र तथा बहुसंख्यक हिन्दु धर्म मान्ने मुलुकमा वैदिक सनातनी राष्ट्र जरुरी भइसकेको छ । यसका लागि राजसंस्था अभिभावका रुपमा बस्नुपर्छ । आज क्रिसमस पर्व मनाउने वहानामा छाडातन्त्र भित्रियो । मौलिकता जोगाउन राजसंस्था आवश्यक छ,’ उनले अगाडि भने,‘राजाका पालामा पनि क्रिसमस मनाइन्थ्यो, मुस्लिमहरुलाई राजाले नै ल्याएका हुन् । आजका दिनमा जेनजी र अल्फा उमेर समूहहरु बोर्डिङ वा नीजि कलेजहरुका अर्गनाइजेसन छन् । उनीहरुलाई लोसार, साकेला, सोरठी, सीता जयन्ती, राम नवमी थाहा छैन् । ती पर्वहरु मनाइदैन तर क्रिसमस मनाइन्छ, राजनीति यहीबाट सुरु गरिएको छ । प्याब्सन, हिसान, एनप्याब्सनहरुले राजनीति गरिरहेका छन् ।’
स्कुलहरुमा माओ, हिटलर, स्टालिनहरुका बारेमा पढाइ भएपनि जय पृथ्वीबहादुर सिंह, पृथ्वीनारायण शाह, भक्ति शाह, सीता माता, अरनिकोबारेमा पढाइ नभएकोमा आक्रोश व्यक्त गरे । ‘शिक्षकहरुलाई म प्रश्न गर्न चाहन्छु मौलिकता नसिकाएर के गरिरहनु भएको छ ? संसारका सबै जाति र धर्मलाई सम्मान गर्नुपर्छ तर मौलिकता गुमाउनु हुँदैन् । क्रिश्चियनलाई सम्मान गर्नुपर्छ तर जवरजस्ती सान्ता क्लज लगाउन दबाब दिन पाइँदैन् । आफ्नो मौलिकता, धर्म, संस्कार, संस्कृति बचाउनुपर्छ । अंग्रेजी बोल्नुपर्छ, अंग्रेजी नयाँ बर्ष मनाउनुपर्छ तर विक्रम सम्वत प्राथमिकता दिनुपर्छ ।’
उनले घरमा तुलसाको मोठ राख्न सके सुकेको क्रिसमस ट्रि बोकेर हिंड्नुपर्ने अवस्था नआउने बताए । उनले घरमा गीता र राष्ट्रिय झन्डा राख्न पनि अनुरोध गरे । ‘म अलिक पृथकतावादी वा पुरातनवादी भएपनि हाम्रो संस्कार, संस्कृति, हाम्रो जोगाउन अनुरोध गर्न चाहन्छु ।’