Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

प्रमुख सडक दायाँबायाँका कवाडी संकलन केन्द्र, वर्कसप र ग्रिल उद्योग हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

पोखरा महानगरपालिकाले नगर क्षेत्रका प्रमुख सडकहरुको दायाँबायाँ शटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग हटाउन ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले सोमबार सूचना प्रकाशित गर्दै कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस प्रकृतिका उद्यम तथा व्यवसायहरु ३५ दिनभित्र अन्यत्र व्यवस्थापन गर्न अल्टिमेटम दिएको हो ।

महानगरले पोखरा महानगर क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको कोत्रेदेखि सेतिपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदिसम्म र नगर क्षेत्रका प्रमुख सडकका दायाँबायाँका शटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग हटाउन भनेको छ ।

महानगरले तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवयर पसल, डिपो तथा अन्य व्यवसायीहरुलाई समेत सडकपेटीमा निर्माण सामाग्री र साइनबोर्ड लगायतका वस्तु तथा सामाग्रीहरु नराख्न समेत आग्रह गरेको छ । महानगरले अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यमहरु सञ्चालन तथा सामाग्रीहरु राखेको पाइएको अवस्थामा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।