Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एआई स्टार्टअप पर्प्लेक्सिटीमा रोनाल्डोको इन्ट्री, लगानीको घोषणा

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २० अर्ब डलरको मूल्यको सर्च इन्जिन कमेट जस्ता उत्पादनहरू सहितको एआई स्टार्टअप, पर्प्लेक्सिटी एआईमा लगानीको घोषणा गरेका छन् ।

रोनाल्डोले भिडियोमार्फत साझा गर्दै सफलता प्राप्त गर्न जिज्ञासाको महत्त्वलाई जोड दिए । उनले भनेका छन्- 'जिज्ञासा सफल हुन आवश्यक छ । जब तपाईं हरेक दिन नयाँ प्रश्नहरू सोधिरहनुहुन्छ तब तपाईं सधै जित्नुहुन्छ । त्यसैले म पर्प्लेक्सिटीमा मेरो लगानीको घोषणा गर्न पाउँदा गर्व गर्छु ।' रोनाल्डोले यो साझेदारीले 'सबैलाई थप महत्वाकांक्षी प्रश्नहरू सोध्न प्रेरित गर्ने' र उनीहरूको संयुक्त प्रयासको सुरुवात मात्र भएको बताएका छन् ।

२०२२ मा स्थापित पर्प्लेक्सिटीले इन्भेस्टमेन्ट राउन्डमा २०० मिलियन डलर सुरक्षित गरेपछि सेप्टेम्बरमा यसको कम्पनिको भ्यालुएसन २० अर्ब डलरको मूल्याङ्कनमा पुगेको थियो । लगानीकर्ता बन्नु अघि एआई खोज प्लेटफर्ममा रोनाल्डोको संलग्नता एक प्रयोगकर्ताको रूपमा सुरु भएको थियो । अक्टोबरमा, उनले पर्प्लेक्सिटीलाई आफ्नो प्रेस्टिज ग्लोब अवार्ड स्वीकृति भाषण बनाउन मद्दत गरेकोमा श्रेय दिएका थिए ।

प्रमुख प्लेटफर्महरूमा एल अर्बभन्दा बढी फलोअर्स भएको रोनाल्डोको सामाजिक सञ्जालमा विशाल उपस्थितिसँगै, उनको लगानी र साझेदारीले पर्प्लेक्सिटीको प्रयोगकर्ता आधारलाई उल्लेखनीय रूपमा विस्तार गर्न सक्ने विश्लेषण गरिएको छ । फुटबल स्टारले आफ्नो घोषणामा 'पर्प्लेक्सिटीले विश्वको जिज्ञासालाई बढावा दिइरहेको' भनेका छन् । रोनाल्डोले कम्पनिमा कति लगानी गरेका छन् भन्ने बारेमा भने स्पष्ट भएको छैन ।