Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लिग चरणको शीर्ष स्थान पक्का

आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध ४९ रनको शानदार जित निकालेको छ । उक्त जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणमा सुदूरपश्चिमले शीर्ष स्थान सुनिश्चित गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमै अलआउट हुँदै १२० रनमै सीमित भयो ।

छ खेलमा लगातार जित निकालेको सुदूरपश्चिमले १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । यसै खेलको नतिजासँगै विराटनगर किंग्सले पनि प्लेअफमा स्थान बनाएको छ । विराटनगरले ६ खेलबाट ८ अंक जोडेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्स प्लेअफमा प्रवेश गरेका छन् ।

अब बाँकी एक स्थानका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । कर्णाली याक्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

चितवनका कुनै पनि ब्याटर सुदूरपश्चिमविरुद्ध जमेर खेल्न सकेनन् । रवि बोपाराले सर्वाधिक २९ रन बनाए भने देव खनालले २८, कप्तान कुशल मल्लले १५ र अर्जुन साउदले १६ रन जोडे । जर्ज स्क्रिमस गोल्डेन डक हुँदै पेभेलियन फर्किए । अन्य ब्याटर दोहोरो अंकमा समेत पुग्न सकेनन् ।

593294100_122176967546455690_2021737565386947567_n.jpg
undefined

सुदूरपश्चिमका पुनित महराले २.१ ओभरमा १४ रन खर्चिँदै तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रन बनाएको थियो । टोलीका क्रिस लिनले ५६ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ७५ रन बनाए । उनी १७औँ ओभरको समाप्तिसँगै ‘रिटायर्ड हर्ट’ भएका थिए ।

लिन र आरिफ शेखले ९२–४ को अवस्थाबाट पाँचौँ विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरे । आरिफ २६ रनमा अविजित रहे । विनोद भण्डारीले २१, पुनित महराले १३ र दीपेन्द्रसिंह ऐरीले अविजित २४ रन जोडे ।

चितवनका सैफ जैबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक–एक विकेट लिए ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित हात पारेको थियो ।