दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२औँ खेलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। खेल बुधबार दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँच खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समान पाँच खेलमा चार अंक मात्र जोड्न सफल भई छैटौँ स्थानमा छ।
आजको खेल विराटनगरका लागि प्लेअफ पुग्ने सुनौलो अवसर हो। जित हात पारे विराटनगर एक खेल अगावै प्लेअफमा पुग्नेछ। उता, लुम्बिनीका लागि भने आजको खेल ‘गर वा मर’ जस्तै बनेको छ। प्लेअफ दौडमा टिकिरहन लुम्बिनीले आजको खेल अनिवार्य जित्नुपर्ने दबाबमा छ।
२१ खेल सकिँदा अंक तालिका अझै रोचक बनेको छ। अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र बाँकी रहेको काठमाडौं गुर्खाज दुई हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने विराटनगर ८ अंकसहित तेस्रो स्थानमा छ।
पोखरा एभेन्जर्स ४ अंकसहित चौथो स्थानमा छ। समान ४ अंक भएका चितवन राइनोज र लुम्बिनी लायन्स क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन्। ६ खेल खेलिसकेको कर्णाली याक्स २ अंकसहित सातौँ स्थानमा छ भने दुई खेल बाँकी रहेको जनकपुर बोल्ट्स २ अंकसहित तालिकाको पुछारमा छ।
एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो तथा राति सञ्चालन भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले हरेक खेलका लागि ९ हजार ४ सय ५० टिकट बिक्री गर्दै आएको जनाएको छ। मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ।
लिग चरण, तीन वटा प्लेअफ र फाइनल गरी एनपीएलमा कुल ३२ खेल हुनेछन्। शनिबारका खेलका लागि टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ तोकिएको छ भने अन्य दिन लिग चरणका लागि ५ सय र १ हजार रुपैयाँ कायम गरिएको छ। प्लेअफपछि हुने खेलमा जनरलतर्फ १ हजार र प्रिमियरतर्फ २ हजार रुपैयाँ मूल्य राखिएको छ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्।