Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न

महिलाको निम्ति महिला मञ्च नेपालले “मनोरञ्जन तथा सत्कार क्षेत्रमा लैङ्गिक न्याय र समावेशिता : नीति निर्माणदेखि कार्यान्वयनसम्म जवाफदेहिता” भन्ने मूल नाराका साथ आफ्नो १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन काठमाडौँमा सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थाका आजीवन सदस्य, साधारण सदस्य, कार्यसमिति सदस्य, सल्लाहकारहरू साथै काठमाण्डौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु, राष्ट्रिय पहिचान सञ्जाल, वोफोवन सांस्कृतिक समूह, मिडिया एडभोकेसी ग्रुप, धार्चे गाउँपालिकाका प्रतिनिधि तथा विभिन्न सहकार्य संस्थाहरू जस्तै वोरेक नेपाल, तरंगिनी फाउन्डेसन, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, मानव अधिकार रक्षकहरूको
जिल्ला सञ्जाल काठमाण्डौं, र परिवर्तनका लागि सहकार्य नेपालको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष सोनिया तामाङ्गले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यसमिति सदस्य सपना भुलनले दिएकी थिइन्। उद्घाटन समारोहमा रन्जिता तामाङ्गले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्। उद्घाटन अतिथिहरूले संयुक्त रूपमा दिप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए। संस्थाकी कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष सृजना पुनले संस्थाको पृष्ठभूमि, उद्देश्य र वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले मनोरञ्जन तथा सत्कार क्षेत्रमा श्रमिक अधिकार, लैङ्गिक समानता र सम्मानजनक कार्यस्थलको लागि गर्दै आएको प्रयासबारे जानकारी गराइन्। त्यसपछि कोषाध्यक्ष विपना गुरुङ्गले वार्षिक लेखापरीक्षण तथा आर्थिक
प्रतिवेदन प्रस्तुत गरिन्।

कार्यक्रममा बोल्दै मिडिया एडभोकेसी ग्रुपकी कोषाध्यक्ष रसना ढकालले महिलाको निम्ति महिला मञ्चको कार्यक्रहरू प्रभावकारी र परिणाममुखी भएको बताउँदै सभाको सफलतामा शुभकामना व्यक्त गरिन्। सामुदायिक प्रहरी सेवा केन्द्रकी चमेली कँडेलले मनोरञ्जन क्षेत्रका श्रमिकप्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन संस्थाको कार्यक्रमले ठूलो भूमिका खेलेको बताइन्। उनले लैङ्गिक हिंसाका घटनाबारे तथ्यांक संकलन गरी त्यसअनुसार
कार्यक्रम योजना बनाउन सुझावसमेत दिइन्।

त्यस्तै, धार्चे गाउँपालिका उपाध्यक्ष तथा संस्थाकी आजीवन सदस्य सुनिला गुरुङ्गले आफैं पनि मनोरञ्जन क्षेत्रमा काम गरेको अनुभव साझा गर्दै महिलाको निम्ति महिला मञ्च आफूसहित सयौं श्रमिकहरूको “उत्पादन” भएको बताइन्। उनले श्रमिकहरूको संगठन, आत्मसम्मान र सामूहिक आवाजका लागि अझ बलियो एकता आवश्यक रहेको बताइन्।कार्यक्रमको अन्त्यमा संस्थाका सल्लाहकार अधिवक्ता दल बहादुर धामीले संस्थाको निरन्तर प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै संस्थाको प्रयासले मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरूको पहिचान र सम्मान स्थापित गर्न सहयोग पुगेको बताए। वार्षिक साधारण सभाको पहिलो सत्र वर्षा लुईटेलले सञ्चालन गरेकी थिइन्। सभापति सोनिया तामाङ्गले अतिथिहरू र सहभागीहरूलाई धन्यवाद दिँदै पहिलो सत्रको समापन गरेकी थिइन्।

New Project (12).png

८औं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
वार्षिक साधारण सभापछि संस्थाको ८औं अधिवेशन सम्पन्न भएको थियो। बन्द सत्रमा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदनका साथै संस्थाका विभिन्न नीति, नियमावली र कार्यविधीहरूमा संशोधन र नयाँ नीति पारित गर्ने निर्णय गरिएको थियो।

यसमा कर्मचारी नियमावली संशोधन, आर्थिक तथा प्रशासनिक नियमावली, यौनजन्य हिंसा, दुर्व्यवहार र शोषण निवारण नीति, जालसाजी तथा भ्रष्टाचार विरोधी नीति, सुरक्षा नीति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, हटलाइन सेवा निर्देशिका, बालसंरक्षण नीति, पञ्चवर्षीय रणनीति २०२३–२०२७, तथा सांस्कृतिक अभियान समूह सम्बन्धी निर्देशिका अनुमोदन गरिएको थियो।

साथै केही अतिरिक्त नीति र कार्यविधीहरूमा छलफल जारी राखी त्यसको अधिकार कार्यसमितिलाई दिने निर्णय गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापति सोनिया तामाङ्गले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरिन्।

नयाँ नेतृत्व चयन

अधिवेशनले ३ सदस्यीय निर्वाचन समिति गठन गरी नयाँ कार्यसमिति चयन गरेको छ। जस्मा संयोजक अधिवक्ता दलबहादुर धामी र २ सदस्यहरु पार्वती बस्नेत र रसना ढकाल थिए । नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको थियो जुन यस प्रकार रहेको छः
अध्यक्ष: शर्मिला कँडेल
 उपाध्यक्ष: विपना गुरुङ्ग
 कोषाध्यक्ष: सपना भुलन
 सचिव: रमिला बुढामगर
 सदस्यहरू:
 शर्मिला वि.सी
राधा गिरी
 दुर्गादेवी आचार्य
मखमली तामाङ्ग
पुजा तामाङ्ग