Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न

महिलाको निम्ति महिला मञ्च नेपालले “मनोरञ्जन तथा सत्कार क्षेत्रमा लैङ्गिक न्याय र समावेशिता : नीति निर्माणदेखि कार्यान्वयनसम्म जवाफदेहिता” भन्ने मूल नाराका साथ आफ्नो १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन काठमाडौंमा सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थाका आजीवन सदस्य, साधारण सदस्य, कार्यसमिति सदस्य, सल्लाहकारहरू, साथै काठमाडौँ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु, राष्ट्रिय पहिचान सञ्जाल, वोफोवन सांस्कृतिक समूह, मिडिया एडभोकेसी ग्रुप, धार्चे गाउँपालिका र विभिन्न सहकार्य संस्थाहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष सोनिया तामाङले गरेकी थिइन् भने स्वागत मन्तव्य सपना भुलनले दिएकी थिइन्। उद्घाटन सत्रमा रन्जिता तामाङले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्। अतिथिहरूले संयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए।

संस्थाकी कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष सृजना पुनले संस्थाको पृष्ठभूमि, उद्देश्य, र वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै मनोरञ्जन तथा सत्कार क्षेत्रमा श्रमिक अधिकार, लैङ्गिक समानता र सम्मानजनक कार्यस्थल सुनिश्चित गर्न संस्थाले गरेका गतिविधिबारे जानकारी गराइन्।

कोषाध्यक्ष विपना गुरुङले वार्षिक लेखापरीक्षण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा बोल्दै मिडिया एडभोकेसी ग्रुपकी कोषाध्यक्ष रसना ढकालले संस्थाका गतिविधि प्रभावकारी र परिणाममुखी रहेको बताउँदै सफलताको शुभकामना व्यक्त गरिन्। सामुदायिक प्रहरी सेवा केन्द्रकी चमेली कँडेलले मनोरञ्जन क्षेत्रका श्रमिकप्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन संस्थाको योगदान महत्वपूर्ण रहेको बताइन्।

Screenshot 2025-11-10 090804.png

त्यस्तै, धार्चे गाउँपालिका उपाध्यक्ष तथा संस्थाकी आजीवन सदस्य सुनिला गुरुङले मनोरञ्जन क्षेत्रमा आफ्ना अनुभव साझा गर्दै श्रमिकहरूको संगठन, आत्मसम्मान र सामूहिक आवाजका लागि अझ बलियो एकता आवश्यक रहेको बताइन्।

कार्यक्रमको समापनमा सल्लाहकार अधिवक्ता दलबहादुर धामीले संस्थाको निरन्तर प्रयास र प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरूको पहिचान र सम्मान स्थापित गर्न संस्थाको भूमिका उल्लेखनीय रहेको बताए।

वार्षिक साधारण सभाको पहिलो सत्र वर्षा लुईटेलले सञ्चालन गरेकी थिइन्।

८औं अधिवेशनले नयाँ कार्यसमिति चयन

वार्षिक साधारण सभापछि सम्पन्न ८औं अधिवेशनमा संस्थाका नीति, नियमावली र कार्यविधीहरूमा संशोधन तथा नयाँ नीति पारित गर्ने निर्णय गरिएको थियो। यसमा कर्मचारी नियमावली, आर्थिक तथा प्रशासनिक नियमावली, यौनजन्य हिंसा, दुर्व्यवहार र शोषण निवारण नीति, जालसाजी तथा भ्रष्टाचार विरोधी नीति, सुरक्षा नीति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, बालसंरक्षण नीति, पञ्चवर्षीय रणनीति (२०२३२०२७) लगायतका नीति तथा निर्देशिकाहरू अनुमोदन गरिएको छ।

अधिवेशनले ३ सदस्यीय निर्वाचन समिति (संयोजक अधिवक्ता दलबहादुर धामी, सदस्यहरू पार्वती बस्नेत र रसना ढकाल) गठन गरी नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ।

नयाँ कार्यसमिति यसप्रकार छः

अध्यक्ष: शर्मिला कँडेल

उपाध्यक्ष: विपना गुरुङ

कोषाध्यक्ष: सपना भुलन

सचिव: रमिला बुढामगर

सदस्यहरू: शर्मिला वि.सी, राधा गिरी, दुर्गादेवी आचार्य, मखमली तामाङ, पुजा तामाङ

कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष सोनिया तामाङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिइन्।