क्यामरूनका दीर्घकालीन शासक पल बियाले बिहीबार पुनः राष्ट्रपति पदको शपथग्रहण गरेका छन्। ९२ वर्षीय बिया विश्वकै सबैभन्दा वृद्ध निर्वाचित राष्ट्रपतिका रूपमा अब आफ्नो लगातार आठौँ कार्यकाल सुरु गर्दै छन्।
मध्य अफ्रिकी राष्ट्र क्यामरूनका दोस्रो राष्ट्रपति बिया सन् १९८२ देखि सत्तामा छन्। उनले नयाँ सात वर्षको कार्यकाल पूरा गर्न सके भने ९९ वर्षको उमेरसम्म पदमा रहनेछन्।
शपथ ग्रहण समारोहमा बोल्दै बियाले हालैका विरोध प्रदर्शनमा मारिएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरे र अशान्तिका लागि गैरजिम्मेवार राजनीतिज्ञहरूलाई दोष दिए।
उनले भने, “म तपाईंहरूलाई आश्वासन दिन सक्छु। व्यवस्था कायम हुनेछ। देशलाई संटमा धकेल्नु व्यर्थ छ।”
गत महिना सम्पन्न राष्ट्रपतीय चुनावमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका प्रमुख प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत मत पाए।
तर, बाकरीले आफू नै वास्तविक विजेता भएको दाबी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्। सरकार र निर्वाचन आयोगले भने ती आरोपहरू अस्वीकार गरेका छन्।
निर्वाचन अवधिमा देशभर ठूला विरोध प्रदर्शन भएका थिए। सरकारी दमनका क्रममा कम्तीमा १४ जनाको मृत्यु र १,२०० भन्दा बढी पक्राउ परेको क्यामरूनको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
पूर्व मन्त्रीसमेत रहेका विपक्षी नेता बाकरीले विशेषगरी युवाहरूमाझ परिवर्तनको चाहना जगाएका थिए। उनी पहिलो पटक बियाविरुद्ध बलियो प्रतिस्पर्धीका रूपमा उदाएका थिए।
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता पाएपछि, पल बिया क्यामरूनका दोस्रा राष्ट्रपति बनेका हुन्। उनका नेतृत्वमा देशले लामो स्थायित्व देखे पनि, लोकतान्त्रिक अभ्यास, मानव अधिकार र स्वतन्त्रताको कमीका कारण बिया निरन्तर आलोचनाको केन्द्रमा रहँदै आएका छन्।