Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

व्यवसायिक कृषकमैत्री सुबिधा: कृषि विकास बैंकको नयाँ ६.४९% कर्जा

कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी बढाउन र व्यवसायिक कृषकलाई सहयोग पुर्‍याउने उद्देश्यसहित कृषि कर्जाको ब्याजदर घटाएको छ। अब कृषकहरूले मात्र ६.४९ प्रतिशत ब्याजदरमा सहज रूपमा कृषि कर्जा लिन सक्नेछन्।

बैंकका अनुसार यो ब्याजदर ५.४९ प्रतिशत आधारदरमा १ प्रतिशत प्रिमियम जोडेर तोकिएको हो। नयाँ ब्याजदर कार्तिक १ गतेदेखि लागू भएको बैंकले जनाएको छ।

कृषि पेशा तथा व्यवसायमा संलग्न ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यो योजनाबाट कृषकहरूलाई थप राहत र प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। बैंकले विश्वास व्यक्त गरेको छ कि ब्याजदर घटेसँगै व्यावसायिक कृषि पेशाप्रति आकर्षण अझ बढ्नेछ।

विगत ५८ वर्षदेखि कृषि क्षेत्रमा योगदान पुर्‍याउँदै आएको कृषि विकास बैंकले आफ्नो कर्जाप्रवाहको ३३ प्रतिशत हिस्सा कृषि क्षेत्रमा केन्द्रित गरेको जनाएको छ। हालसम्म बैंकले देशभरका ८० हजारभन्दा बढी कृषक र कृषि व्यवसायीहरूलाई कर्जा सुविधा प्रदान गरिसकेको छ। बैंकले सबै कृषक र कृषि उद्यमीलाई यो सुविधाबाट लाभ लिन आह्वान गरेको छ।