बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट किसानहरूले करिब रु १ करोड ५० लाख बराबरको आम्दानी गरेका छन्।
स्याउ उत्पादनका लागि प्रसिद्ध स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दा गाउँपालिकामा उत्पादन भएको स्याउ बिक्रीबाट यो आम्दानी भएको कृषि ज्ञान केन्द्र बाजुराले जानकारी दिएको हो।
केन्द्रका अनुसार, बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ हाल काठमाडौं, नेपालगन्ज, सुर्खेत र धनगढी लगायतका ठूला शहरका बजारमा आपूर्ति भइरहेको छ।
ढुवानीमा कठिनाइ, तर आम्दानी सन्तोषजनक
बाजुराका किसानहरूले खेतबारीमै उत्पादन भएको स्याउलाई कृषि ज्ञान केन्द्रको सहयोगमा बाह्य जिल्लामा ढुवानी गरी बिक्री गर्दै आएका छन्। तर यस वर्ष सडक अवरोधका कारण ढुवानीमा समस्या भएकोले अपेक्षित समयमै बजारसम्म पुर्याउन नसकिएको किसानहरूले बताएका छन्।

बुढिनन्दाका स्याउ कृषक पुर रावतले भने, “बाटो बन्दका कारण ढुवानीमा ढिलाइ भयो, तर कर्णाली करिडोर खुलेपछि अन्य जिल्लामा निर्यात गर्न सजिलो भयो र आम्दानी पनि राम्रै भयो।”
उत्पादनमा कमी, तर बजार विस्तार
गत वर्षको तुलनामा यो वर्ष स्याउ उत्पादनमा केही कमी आएको केन्द्रले जनाएको छ। बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो। धेरै किसानले डोकोमा बोकेर सिधै बजारमा बिक्री गरे पनि ठूलो परिमाणमा व्यवस्थित बजारिकरणबाट मात्रै एक करोड बढी आम्दानी भएको बताइएको छ।
केही सानातिना बिक्रीको विवरण भने केन्द्रमा नआएको जनाइएको छ।
४२५ हेक्टर क्षेत्रफलमा स्याउ खेती
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा कुल ४२५ हेक्टर क्षेत्रफलमध्ये करिब २०० हेक्टर क्षेत्रमा स्याउ खेती भइरहेको छ। त्यसबाट करिब १,६०० मेट्रिक टन स्याउ उत्पादन हुने गर्छ। बाजुरामा मुख्य रूपमा फुजी, गोल्डेन रेड, डेलिसियस र स्थानीय जातका स्याउ उत्पादन हुने गरेका छन्।
समयमै ढुवानी नहुँदा हरेक वर्ष घाटा
हिमाली, स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दामा स्याउको उत्पादन राम्रो भए पनि समयमै ढुवानी नहुँदा हरेक वर्ष केही मात्रा कुहिने गरेको किसानहरूको गुनासो छ।
तर पछिल्ला वर्षहरूमा कृषि ज्ञान केन्द्रले बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्लाबाहिर पठाउने प्रणाली सुरु गरेपछि किसानहरू लाभान्वित भएका छन्।