Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चितवनको गाईघाटमा सवारी दुर्घटना: सात गाडी ठोक्किए

चितवनको गाईघाटमा आज बिहान भीषण सवारी दुर्घटना भएको छ। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत गाईघाटमा सात वटा सवारी साधन एकैचोटि आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनापछि केही सवारी चालक तथा यात्रु गाडीभित्रै च्यापिएर फसेका छन्। अहिले प्रहरी र स्थानीयवासी मिलेर उद्धार कार्य जारी राखिएको छ। घटनास्थलमा एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

हालसम्म कति जना घाइते भएका छन् भन्ने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। तर, केही व्यक्तिहरू गम्भीर रूपमा घाइते भएको अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारण पनि अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सडकमा सवारी चाप अत्यधिक बढेको छ। उद्धार कार्य र ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ। प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

पूर्व–पश्चिम यातायातको मुख्य नाका मानिने मुग्लिन–नारायणगढ सडकखण्डमा यसअघि पनि यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।