हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको मृत्यु पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका छन्।
उनीहरू विपिनलाई सकुशल उद्धार गरी ल्याउने आशामा अमेरिका गएका थिए। तर, इजरायल–हमास युद्धको दौरान हराएका विपिन अब जीवित नरहेको आधिकारिक पुष्टि भएपछि उनीहरू खाली हातै नेपाल फर्किन बाध्य भए।
कतार एयरवेजमार्फत उनीहरू आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा आफन्तहरूले भावुक स्वागत गरेका थिए भने वातावरण गहिरो पीडाले भरिएको थियो।
२०७८ सालमा अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। गत वर्ष अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि उनी बेपत्ता भएका थिए। सो घटनामा अन्य केही नेपाली विद्यार्थीहरू पनि ज्यान गुमाएका थिए।