Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

‘जेनजी’ समूहका नाममा धम्की दिने अर्जुन शाही पक्राउ

आफूलाई ‘जेनजी’ समूहको नेता बताउँदै विभिन्न सरकारी कार्यालयमा गएर कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार शाहीलाई मंगलबार काठमाडौंको कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही पछिल्ला महिनाहरूमा विभिन्न कार्यालयमा पुगेको भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको थियो। उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयसम्म पुगेर ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा कर्मचारीलाई धम्क्याउने गरेको आरोप छ।

प्रहरीका अनुसार शाही विभिन्न आपराधिक मुद्दामा फरार सूचीमा थिए। पक्राउपछि उनलाई अब कानूनी प्रक्रिया अघि बढाइने एसपी भट्टराईले जानकारी दिए। प्रहरीले उनको समूहसँग सम्बन्धित गतिविधि र पछिल्ला धम्की घटनाबारे पनि थप अनुसन्धान अघि बढाएको जनाएको छ।