Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सडक डिभिजन लहानका तत्कालिन प्रमुखसहित चार जना र निर्माण कम्पनिविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरको छ ।

अख्तियारले प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा गुणस्तरहीन सामाग्री प्रयोग गरी मनोमानी ढंगले कार्य संचालन गरी अनियमितता तथा हिनामिना गरेको प्रमाणित भएको भन्दै कार्यालय प्रमुख दाससमेत ४ जना र निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले चारै जनालाई जनही २ करोड ३४ लाख ९९ हजार ९४५ बराबरको बिगो माग गरेको छ । मुद्धा दायर हुनेमा सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दास, तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी र सव-इन्जिनियर चन्द्रकान्त चौधरी, जय धनन्जय/रब्बानी जेभी तथा उक्त जेभीको तर्फबाट अधिकार प्राप्त रब्बानी कन्सट्रक्सनका प्रोपराइटर जफिर कवारी रहेको अख्तियारले जानकारी दिएको छ ।