Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

उत्तर कोरियालाई विश्वको उत्कृष्ट समाजवादी स्वर्ग बनाउने किमको प्रतिबद्धता

आणविक कार्यक्रमलाई लिएर जारी तनावका बीच उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई फेरि एक पटक चेतावनी दिएका छन् । आफ्नो वर्कर्स पार्टीको ८० औं वार्षिकोत्सवमा भाषण दिँदै किमले उत्तर कोरियालाई विश्वको उत्कृष्ट समाजवादी देश बनाउने र कुनै पनि खतराको जवाफ आणविक शक्तिले दिने चेतावनी दिएका हुन् । 

यस क्रममा उनले चीन र रुस जस्ता देशका नेताहरूको उपस्थितिमा पश्चिमी देशहरू विरुद्धको गठबन्धनलाई बलियो बनाउने संकेत पनि गरे भने अर्कोतर्फ, उनले अमेरिकासँग वार्ता गर्ने इच्छा पनि व्यक्त गरे ।

आफ्नो भाषणमा किमले अमेरिकाको बढ्दो आणविक खतराको सामना गर्न सकियोस् भनेर आणविक हतियार र अर्थतन्त्र दुवै विकास गर्ने नीति अपनाएको बताए । उनले हाम्रा विरोधीहरूको राजनीतिक र सैन्य दबाबको साहसपूर्वक जवाफ दिइरहेको बताउदै देशलाई समृद्ध र सुन्दर बनाएर, विश्वको उत्कृष्ट समाजवादी स्वर्ग बनाउने घोषणा गरेका छन् ।

किमको वर्कर्स पार्टीको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चीनका प्रधानमन्त्री ली छियाङ, रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेव र भियतनाम कम्युनिष्ट पार्टीका प्रमुख तो लामले भाग लिएका थिए । किमले धेरै नेताहरूसँग छुट्टाछुट्टै भेटेका छन् ।

त्यस्तै, शुक्रबार एक विशाल सैन्य परेड हुने सम्भावना छ, जसमा किमले आफ्ना नयाँ र खतरनाक हतियारहरू प्रदर्शन गर्न सक्छन् । यसमा अमेरिकालाई प्रहार गर्न सक्षम लामो दूरीको क्षेप्यास्त्रहरू पनि समावेश छन् । २०१९ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमको वार्ता कुनै सम्झौता बिना नै सकिएको थियो । तर अब किमले अमेरिकाले पूर्ण आणविक निशस्त्रीकरणको सर्त त्याग्यो भने, फेरि वार्ताको लागि तयार रहेको बताएका छन् ।