Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हमासले बन्धक बनाएका विपिन जोशीको नयाँ तस्बिर सार्वजनिक

हमास समूहले दुई वर्षदेखि बन्धक बनाइरहेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ तस्बिर सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार उक्त तस्बिर इजरायली रक्षा बल (IDF) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो। ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ र विभिन्न इजरायली मिडियाका अनुसार उक्त भिडियो नोभेम्बर २०२३ मा खिचिएको थियो।

यद्यपि, भिडियो सार्वजनिक गरिएको छैन। तस्बिरमा विपिनलाई अपहरणमा परेपछि करिब एक महिनाको अवस्थाको रूपमा देख्न सकिन्छ। यसअघि, उनीलाई अपहरण भएको दिनकै शिफा अस्पतालको सुरक्षा क्यामेरा फुटेजमा देखिएको थियो। त्यसपछि उनको कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक भएको थिएन।

नयाँ तस्बिर सार्वजनिक भएपछि लामो समयदेखि चिन्तित उनका परिवार र शुभेच्छुकमा आशा पलाएको छ कि विपिन अझै जीवित हुन सक्छन्। कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज अलुमिम क्षेत्रमा आक्रमण गर्दा उनी बन्धक बनेका थिए।

आक्रमणका क्रममा विपिनले हमासका लडाकुले फालेको ग्रेनेड फ्याँक्दै अन्य साथीहरूको ज्यान बचाएको विवरण सार्वजनिक भएको थियो। करीब दुई वर्षदेखि उनको अवस्थाबारे कुनै ठोस जानकारी नआएपछि परिवारले निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा उनको सकुशल रिहाइका लागि अपिल गर्दै आएको छ।