Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २१ जना घाइते

सिन्धुपाल्चोकको चरिकोट–खाडीचौर सडक खण्डमा भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्। सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार उक्त दुर्घटना सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित सडक खण्डमा आज बिहान भएको हो।

रामेछापको खाडादेवी गागलभदौरे–८बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा गएको टोलीले चालकसहित तीन नाबालकसहित २१ जना घाइते यात्रुलाई उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाएको हो। सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका यात्रुलाई लिन हिमाल तराई यातायातको अर्को बस बनेपाबाट खाडीचौर पठाइएको सो संस्थाका अध्यक्ष आत्मराम थापाले जानकारी दिए।