Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

खुम्बुमा असोजमै दुर्लभ हिमपात, स्थानीय जीवन र पर्यटन गतिविधि प्रभावित

सगरमाथा क्षेत्रमा असोज महिनामै परेको हिमपातले स्थानीय जीवन र पर्यटन गतिविधि प्रभावित भएका छन्। असोजको तेस्रो सातादेखि परेको लगातार वर्षा र हिउँका कारण नाम्चेभन्दा माथिल्लो क्षेत्र सेताम्य बनेको छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे, दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्रभर भारी हिमपात भएपछि जनजीवन अवरुद्ध बनेको हो। असोजमा हिउँ पर्नु यहाँ दुर्लभ मानिन्छ।

गाउँपालिका४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार, आइतबार परेको हिमपातले माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो। “नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ,” उनले भने, “दिङ्बोचेमा पाँच होटल हिउँको भारले भासिएका छन्, तर मानवीय क्षति भने छैन।”

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार लगातारको वर्षा र हिउँले होटलका छाना भत्किएर भासिएका हुन्। “आर्थिक क्षति भने भएको छ,” उनले भने।

असामान्य मौसमी परिवर्तनको सङ्केत

खुम्बु क्षेत्रमा असोजमै हिउँ पर्नु जलवायु परिवर्तनको सङ्केत भएको विज्ञहरूले बताएका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले भने, “असोज महिनामा हिउँ पर्नु दुर्लभ हो। यो जलवायु परिवर्तनकै असर हो।”

उनका अनुसार, अघिल्ला वर्षहरूमा मङ्सिरदेखि माघमा मात्र बाक्लो हिमपात हुने गर्थ्यो। “पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिने तालमेल अब हराउँदै गएको छ,” उनले भने।

पर्यटन र कामकाज ठप्प

हिउँका कारण खुम्बुका बासिन्दाको दैनिक जीवन र स्थानीय व्यवसाय ठप्प बनेका छन्। निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजना रोकिएको वडाध्यक्ष अधिकारीले बताए। “कामदारहरू चिसोका कारण नाम्चे झरेका छन्,” उनले भने, “मौसम अनुकूल भएपछि मात्रै काम सुरु हुनेछ।”

असोज २० गते बिहान मौसम खुले पनि चिसो र बाक्लो हिउँका कारण जनजीवन सुस्त बनेको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए।

जलवायु संकट र हिमाली जीवन

वातावरणविद्हरूका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा असामान्य मौसमी परिवर्तन तीव्र बनेको छ। कहिले असोजमै हिउँ पर्छ, कहिले माघमा पनि हुँदैन। तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिउँको मात्रा घट्दै गएको छ भने छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन्।

पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकीय याम रहन्थ्यो, अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने, होटल खाली हुने समस्या बढेको छ,” स्थानीय व्यवसायी तोयकुमार श्रेष्ठले भने।

स्थानीयको आग्रह

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले जलवायु सन्तुलनका लागि सरकारी तहबाट विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।

हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ,” नाम्चेका सुमन मोक्तानले भने, “अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ। यो परिवर्तनलाई अब गम्भीर रूपमा लिनुपर्ने बेला आएको छ।”

वडाध्यक्ष अधिकारीले भने, “हाम्रो आर्थिक जीवन हिउँसँगै बाँधिएको छ, त्यसैले राज्यले पनि यस क्षेत्रमा जलवायु अनुकूलन योजना ल्याउनुपर्छ।”