Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी आन्दोलनका घाइतेहरु भन्छन्- आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ ?

जेनजी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेनजी आन्दोलनमा घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् ।

उनले सोमबार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको अन्तरिम सरकार पनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरुलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाईतेका परिवारले गुनासो गरेको बताए । उनले भने, ‘सरकारले हामीलाई अहिलेसम्म फोन पनि गरेको छैन, अहिलेसम्म जेनजी साथीहरुले पनि फोन गर्नुभएको छैन भन्नुहुन्छ, अनि मलाई तपाईं को हो भनेर भन्नुहुन्छ, मैले जवाफमा म एकदमै नर्मल मान्छे हुँ भनेर भनेको छु । म सरकारी मान्छे होईन, म सहजकर्ताको हिसाबले काम गरिरहेको छु भन्नुभएको छ ।’

उनले सुनाए, ‘कतिपय यस्तो हुनुहुन्छ कि घरमा एउटा कमाउने छोरा गुमाउनुभएको छ, जसले कमाउनुभएको थियो, घरको खर्च टर्दथ्यो, तर अहिले त्यही छोरा अस्पतालको बेडमा छ, कुनै सहयोग वा राहत नपाएको अवस्था छ, उहाँहरुले फोन गर्नुभएकोले मैले आज यहाँ पत्रकार भेटघाट गराएको हुँ, उहाँहरुको अवस्था एकदमै दयनीय छ।जसको रगतमा यो सरकार बनेको छ, उहाँहरुको बारेमा यो सरकारले एकचोटी सम्बोधन गर्नुपर्दैन ?’

Sanjaya   Poudel  .jpg

जेनजी आन्दोलनका घाइते सुयोग राईले आफूलाई आन्दोलनको क्रममा गोली लागेको सुनाए । उनले आफ्नो निःशुल्क उपचार भएको सुनाए । घरपरिवारले समेत अहिले धेरै चिन्ता लिएको उनको भनाई छ । आफू विदेश जान ठिक्क परेर बसेको भएपनि देशमा व्याप्त भ्रष्टाचार हटाउनको लागि आन्दोलनमा गएको उनले सुनाए ।

यस्तै, अर्का वक्ता प्रदीप भट्टराईले राज्यले निकास पाओस भनेर जेन–जी आन्दोलन भएको स्मरण गराए । नेपालमा युवाहरुलाई दबाइएको र भिजन नभएकाहरुले देश कब्जा गरेकोले देश विकास नभएको उनको दाबी छ । जेन–जी आन्दोलनका घाइते सञ्जय पौडेल (सर्लाही) ले संसद् भवनअघि चार वटा गोली लागेर घाइते भएको बताए । सरकारले दिँदै आएको घाइते परिचयपत्र लिनको लागि पनि धेरै कष्ट भोग्नु परेको पनि उनले सुनाए । उनले आफूहरुको जिन्दगी बोनसको जिन्दगी भएको बताए ।

अर्का घाइते समिर खत्री (दोलखा) ले आफू जेन–जी आन्दोलनको क्रममा घाइते भएको र आफूहरुको माग पूरा हुनुपर्ने बताए । आफूहरु आन्दोलनमा मर्न मात्रै नगएको भन्दै आफूहरुले अघि सारेका माग र मुद्दा अनि उद्देश्यपनि पूरा हुनुपर्नेमा जोड दिए ।  उनले भने, ‘हामी यो अन्तरिम सरकार बनाउनको लागि मात्रै आन्दोलनमा गएका थिएनौं । हामी त भ्रष्टाचार जरैदेखि उन्मुलन होस भनेर गएको हो ।’