मनाङ निर्वाचन क्षेत्र १ (२) को उपनिर्वाचन तत्काल नगर्न सरकार र निर्वाचन आयोगबीच समझदारी भएको छ। आइतबार सरकार र निर्वाचन आयोगका आयुक्त सहितका पदाधिकारीबीच भएको छलफलको क्रममा मनाङको उपनिर्वाचन नगर्न समझदारी भएको स्रोतले जानकारी दिएको छ।
गत भदौ १३ गते बसेको आयोगको बैठकले मनाङमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि त्यो क्षेत्र रिक्त छ।
कात्तिक १७ मै रुपन्देही ३ मा पनि उपनिर्वाचन तय भएको थियो। तर प्रतिनिधि सभा विघटनका कारण त्यो निर्वाचन कार्यक्रम रद्द भइसकेको छ।
प्रदेश सभा सदस्यको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदा उपनिर्वाचन गर्ने संवैधानिक व्यवस्था छ। २०८१ कात्तिक २० गतेदेखि मनाङ क्षेत्र नम्बर १ (२) रिक्त छ।