Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सडक अवरुद्धपछि अलपत्र यात्रुलाई भैरहवाबाट काठमाडौं चार्टर्ड फ्लाइटमार्फत ल्याइँदै

अविरल वर्षाका कारण सडक अवरुद्ध भई भैरहवामा अलपत्र परेकाहरूलाई काठमाडौं ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ। स्थगित उडान आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

आइतबार राति नै उडान गराउने तयारी भए पनि आवश्यक समन्वय नपुगेका कारण अन्तिम समयमा उडान रोकिएको थियो। तिवारीका अनुसार आजको उडानका लागि सबै पक्षबीच सहमति भइसकेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार उक्त विमान आज दिउँसो १ बजे काठमाडौंबाट भैरहवा पुग्ने र २:४५ बजे यात्रुसहित पुनः काठमाडौं फर्किने कार्यक्रम छ। टिकट व्यवस्था प्रणालीगत कारणले जटिल भएपछि प्रशासनले यात्रुहरूको नाम संकलन गरेर सूचीका आधारमा नै पठाउने तयारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयको अनुरोधमा निगमले १५८ सिट क्षमताको विमान परिचालन गर्न लागेको हो। उपचारका लागि तत्काल काठमाडौं जानुपर्ने बिरामी, अध्ययन वा रोजगारीका लागि विदेश जान टिकट काटिसकेका व्यक्ति तथा पर्यटकलाई प्राथमिकतामा राखेर यात्रु पठाइने प्रजिअ पाण्डेले जानकारी दिए।

नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा उडान भाडा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार रुपैयाँ तोकेको छ। आइतबार साँझ ७:१५ देखि ९:४५ बजेसम्मका लागि उडान अनुमति लिएर नाम संकलनसमेत गरिएको थियो तर तयारी अभावले उडान सारिएको हो।

यसअघि अवरुद्ध सडकका कारण सयौँ यात्रु भैरहवामा अलपत्र परेका थिए। आजको चार्टर्ड फ्लाइटले राहत मिलने अपेक्षा गरिएको छ।