सेनाको हेलिकप्टरमार्फत दुई जनाको उद्धार
इलाम जिल्लाका विभिन्न ठाउँमा गएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार जिल्लाका ६ वटा स्थानीय तहमा ठूलो जनधनको क्षति भएको हो।
सूर्योदय नगरपालिका–१ मा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। त्यस्तै, इलाम नगरपालिका–६ मा ६ जनाको मृत्यु भएको छ।
देउमाई नगरपालिकामा दुई जना, फाकफोकथुम गाउँपालिकामा एक जना, माङ्सेबुङ गाउँपालिकामा तीन जना र माइजोकमाई गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।
सन्दकपुर गाउँपालिकामा पनि तीन जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ। उद्धार गरिएकामध्ये एक जना पुरुष र एक गर्भवती महिला रहेका छन्। दुवैलाई विराटनगरस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ।