इलाममा आएको पहिरोले १८ जनाको ज्यान गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार विभिन्न स्थानीय तहमा जनधनको ठूलो क्षति भएको हो।
सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका–१ पाटिगाउँमा ३, देउमाई नगरपालिका–५ धारेमा १, देउमाई–५ धुसुनेमा २, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार घटनास्थलमा अहिले पनि उद्धार तथा खोज कार्य तीव्र रूपमा जारी छ। लगातारको वर्षाले थप जोखिम बढाए पनि सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरिरहेका छन्।