धरानबाट पाँचथर जाँदै गरेको एक बलेरो जीप तमोर नदीमा खसेको छ।
कोसी प्रदेश प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीका अनुसार जीप करिब पाँच सय मिटर तल खसेको छ। घटनास्थलतर्फ प्रहरी टोली पठाइएको उनले जानकारी दिए।
दुर्घटना पाँचथरको कार्तिके नजिकै भएको बताइएको छ। प्रत्यक्षदर्शी सागर ढकालले सामाजिक सञ्जालमार्फत गाडी खसेको पुष्टि गर्दै तत्काल उद्धारका लागि हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन्।
ढकालका अनुसार दुर्घटना स्थल नदी किनारमा भएकोले उद्धार कार्य जोखिमपूर्ण बनेको छ। “हामी यहीँ छौँ, उद्धारको प्रयास भइरहेको छ,” उनले भने।
स्थानीयहरूले दुर्घटनामा ठूलो मानवीय क्षति हुन सक्ने आशंका व्यक्त गरेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि घटनास्थलमा टोली परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जनाएको छ।