पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन–नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजनको सूचनामा भनिएको छ, ‘पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नु हुन र गर्नैपर्ने भए जानकारी लिएर सुरक्षा निकायको समन्वयमा मात्रै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं।’
सडक जिभिजन भरतपुरका अनुसार मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिक खसेको पहिरो भने हटाइएको छ। पहिरोका कारण केही समय अवरुद्ध भएको सडकको आवागमन अहिले सञ्चालनमा आएको हो।
चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन्। चितवनको तुइन खोला सामान्य अवरोध छ।’
धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरेका छन् । पानी परिरहेको र ढुंगामाटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।