नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल नेतृत्व छाड्न दबाब बढेको छ। नेपाल बौद्धिक परिषद्ले महाधिवेशनअघि नै ओलीलाई पार्टीको सत्ता छाड्न सुझाव दिएको जानकारी सार्वजनिक भएको छ।
परिषद्ले असोज २ गते बुझाएको तीन पृष्ठ लामो सुझाव पत्रमा ओलीलाई महाधिवेशन कुर्ने आवश्यक नठानेर तत्काल नेतृत्व हस्तान्तरण गर्न सल्लाह दिएको छ। पत्रमा उल्लेख छ कि केन्द्रीय कमिटीको विधानअनुसार नेतृत्व हस्तान्तरण गरिनु उपयुक्त हुने उल्लेख गरिएको छ।
परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेको पत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिएको थियो। पत्रमा भनिएको छ, “विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरूले अब अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ। पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न महाधिवेशन आवश्यक भए पनि तत्काल सो काम प्राविधिक रूपमा सम्भव नभएकोले कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय लिन उपयुक्त हुन्छ।”
असोज १२ गते ओली निवास गुन्डुमा बसेको एमाले सचिवालय बैठकमा पनि अधिकांश पदाधिकारीले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका थिए। बैठकमा संगठन, नेतृत्व र जेनजी आन्दोलनका घटनासहित त्यसका परिणामबारे छलफल भएको बताइएको छ।
एमालेले आगामी असोज १९ र २० गते पुनः सचिवालय बैठक र २७, २८ तथा २९ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। ती बैठकबाट पार्टी महाधिवेशनसम्बन्धी निर्णय हुनसक्ने अपेक्षा गरिएको छ।