Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आर्थिक अवस्थाबारे उठेका प्रश्नमा मन्त्री महावीर पुनको स्पष्टीकरण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत आफ्नो आर्थिक अवस्थाबारे सार्वजनिक भएको प्रश्नको जवाफ दिएका छन्।

फेसबुकमार्फत स्पष्टीकरण दिँदै मन्त्री पुनले आफ्नो र परिवारको खर्च लामो समयदेखि साथीभाइ र शुभचिन्तकहरूले व्यहोर्दै आएको जानकारी दिए। उनले भने, “म मन्त्री भए पनि मेरो र श्रीमती, छोरीहरूको खर्च साथीहरूले पुर्‍याइदिन्छन्। मलाई ढुक्क छ।”

पुनले मन्त्री पदको तलब र भत्ता नलिएको स्पष्ट पार्दै आफू सार्वजनिक जीवनमा पारदर्शी र जवाफदेही रहने प्रतिबद्धता व्यक्त गरे।

३२ वर्षअघि अमेरिकाबाट फर्किएर ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट विस्तार गरेको स्मरण गर्दै उनले पछिल्लो सात वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमार्फत युवाहरूलाई नवप्रवर्तनमा अवसर प्रदान गर्दै आएको बताए। कोरोना महामारीको समयमा निःशुल्क औषधि वितरण गरेको र ३० वर्षदेखि बन्द वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका लागि जनताबाट करोडौं सहयोग संकलन गरेको उदाहरण उनले प्रस्तुत गरे।

मन्त्री पुनका अनुसार, यी कार्यहरूले जनताको विश्वास जित्न सहयोग पुगेको छ। यात्रा खर्चसमेत आफैंले बेहोर्दै आएको उल्लेख गर्दै उनले थप विवरणका लागि आफ्नो आत्मकथा अध्ययन गर्न आग्रह गरेका छन्।