Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको पक्षमा छौँ - जेनजी

जेनजी आन्दोलनमा संलग्न विभिन्न युवा समूहहरूले बिहीबार विज्ञप्ति जारी गर्दै हालको नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

भदौ २३ गते माइतीघरमा प्रदर्शन गर्न अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय पुगेको पुरूषोत्तम यादव नेतृत्वको समूहले आन्दोलनपछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो आन्दोलन शान्तिपूर्ण, संवैधानिक र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले सञ्चालित थियो। अराजकता र क्षतिको जिम्मेवारी राज्य र घुसपैठ तत्त्वहरूले लिनुपर्छ।”

यादवले आन्दोलनको सफलतापछि यसको संरक्षण र विस्तारको जिम्मेवारी सम्पूर्ण पुस्ताले लिनुपर्ने बताए। उनले असोज २३ मा कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै, “हाम्रो आन्दोलन जनताको आवाजका लागि हो, कुनै दल वा स्वार्थका लागि होइन,” भनेका छन्।

यसैबीच, इन्डिजिनियस जेनजी कलेक्टिभ, जेनजी मुभमेन्ट अलायन्स र हाउ टू देश विकास जस्ता समूहहरूले पनि अवधारणापत्र जारी गर्दै तेस्रो पुस्ताका नेताहरूलाई दलभित्र रूपान्तरणका लागि सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।

युवाहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी सहभागितालाई स्वीकार गर्दै नेतृत्वको इच्छाशक्ति, नैतिकता र दलगत कार्यप्रणालीमाथि प्रश्न उठाएका छन्। साथै, पुराना दलका युवा नेताहरूलाई लुटिएको धन फिर्ता गर्न र खबरदारी गर्न दबाब दिएका छन्।

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि छानबिनको माग समेत गरिएको छ।

जेनजी आन्दोलनका विज्ञप्तिहरूले आन्दोलनको नयाँ चरणमा युवाहरूको एकता, राजनीतिक सचेतना र पुराना दलमाथिको दबाबलाई अझ प्रष्ट बनाएको देखिएको छ।