अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका लागि नयाँ शान्ति योजनामा सहमति जनाएका छन्। प्रस्तावित योजनामा तत्काल सैन्य कारबाही रोक्ने, बन्धक विनिमय गर्ने र गाजाको भविष्य शासनको रूपरेखा तय गर्ने मुख्य प्रावधानहरू समावेश छन्।
बीबीसीले उद्धृत गरेको प्यालेस्टिनी स्रोतअनुसार ह्वाइट हाउसले हमासका अधिकारीलाई २० बुँदे प्रस्ताव हस्तान्तरण गरेको छ। प्रस्तावअनुसार हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ। मृत मानिएका दुई दर्जनभन्दा बढी बन्धकको अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्ने शर्त पनि राखिएको छ।
योजनामा गाजाको शासनमा हमासको कुनै भूमिका नहुने प्रावधान छ। अमेरिकी पक्षले अस्थायी रूपमा प्राविधिक र अराजनैतिक प्यालेस्टिनी समितिले गाजाको शासन गर्ने र ‘शान्ति बोर्ड’ नामक अन्तर्राष्ट्रिय निकायको पर्यवेक्षण रहने व्यवस्था अघि सारेको छ। उक्त निकायको नेतृत्व ट्रम्पको टिमले गर्ने र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसहित केही नेता सदस्य रहने प्रस्ताव छ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले योजनालाई “ऐतिहासिक शान्तिको कदम” भन्दै हमासलाई स्वीकार गर्न आग्रह गरे। उनले योजना अस्वीकार भए इजरायलको कुनै पनि कदममा अमेरिकाले समर्थन गर्ने चेतावनी पनि दिए। नेतान्याहूले पनि योजना अस्वीकार भए इजरायलले आवश्यक कारबाही गर्ने स्पष्ट चेतावनी दिएका छन्।
योजना अनुसार, पहिलो चरणमा २० जीवित इजरायली बन्धक र मृत मानिएका बन्धकका अवशेष फिर्ता भएपछि इजरायलले सयौँ गाजावासीलाई रिहा गर्नेछ। प्रत्येक इजरायली बन्धकको अवशेषको बदलामा १५ मृत गाजावासीको अवशेष प्रदान गर्ने प्रावधान प्रस्तावमा समावेश छ।
बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले योजनाको स्वागत गर्दै सबै पक्षलाई अमेरिकी प्रशासनसँग सहकार्य गरेर प्रस्तावलाई व्यवहारमा ल्याउन आग्रह गरेका छन्। उनले हमासलाई हतियार फालेर बाँकी रहेका बन्धक रिहा गर्न र गाजाको दुःख अन्त्य गर्न अपिल गरेका छन्।
योजनामा गाजाको पुनर्निर्माणका लागि अमेरिकाले आर्थिक विकास कार्यक्रम अघि सार्ने, इजरायलले गाजामा कब्जा वा विलय नगर्ने र सैनिकहरूलाई चरणबद्ध रूपमा फिर्ता गर्ने प्रावधान पनि राखिएको छ। अन्ततः प्यालेस्टिनी राज्यको सम्भावनालाई खुला राखिएको छ।
कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको यो योजना दोहामा हमासका अधिकारीलाई हस्तान्तरण गरिएको बताइएको छ।