Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दशैं : २४ घण्टामा १ लाख ११ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए

दशैं मनाउनका लागि राजधानी काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ लाख ११ हजार ६३९ जना यात्रु उपत्यकाबाट विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनमार्फत कम्तीमा ४ लाख ६७ हजार ९७७ जना उपत्यकाबाट बाहिरिएका छन्।

यस अवधिमा ६१ हजार ७८१ सवारीसाधनमार्फत कम्तीमा २ लाख ५२ हजार ७५५ जना उपत्यका भित्रिएका छन्।

दशैंको चहलपहल सुरु भएसँगै गाउँ फर्किने यात्रुको संख्या बढेपछि उपत्यका बाहिरिने प्रमुख राजमार्गमा सवारीसाधनको चाप उच्च बनेको ट्राफिक प्रहरीले जनाएको छ।

पछिल्लो २४ घण्टामा मात्र १८ हजार ६१३ सवारीसाधन उपत्यकाबाट बाहिरिँदा १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु उपत्यका भित्रिएका छन्।