Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

थलापति विजयको र्‍यालीमा भागदौड : कम्तीमा ३६ को मृत्यु

भारतको दक्षिणी राज्य तमिलनाडुमा शनिबार आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको छ। करुर जिल्लामा अभिनेताराजनीतिज्ञ थलापति विजयको प्रचार कार्यक्रममा हजारौँ मानिसको भीडमा यो दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार कार्यक्रम सुरु हुन धेरै घण्टा ढिलो भएपछि भीडमा अत्तालाहट मच्चिएको थियो। टेलिभिजनमा प्रसारित भिडियो फुटेजमा खचाखच भीडमा मानिस मूर्छा परिरहेको देखिएको छ।

राजनीतिज्ञ सेन्थिल बालाजीले स्थानीय अस्पतालबाहिर पत्रकारलाई घटनामा ५० भन्दा बढी घाइते भएको जानकारी दिएका छन्। राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनका अनुसार मृत्यु हुनेमध्ये कम्तीमा १६ महिला, नौ पुरुष र ६ बालबालिका रहेका छन्।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले दुर्घटनापछि घाइतेलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको बताए। उनले मृतकका परिवारलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने र घटनाको जाँचबुझ गर्ने घोषणा गरे।

एक प्रत्यक्षदर्शीले भारतीय समाचार एजेन्सी एएनआईलाई भने, “मेरो भाइका दुई छोरामध्ये जेठोको मृत्यु भयो, कान्छो अझै बेपत्ता छ। मेरी भाउजू आईसीयूमा उपचाररत छिन्।”

अभिनेता विजयले अनलाइन वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति संवेदना जनाउँदै अस्पतालमा रहेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनालाई अत्यन्तै दुःखद भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।