Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

हितेन्द्रलाई कुलमानको निर्देशन : बक्यौता रकम असुल गर्नू

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युतको बक्यौता रकम असुली प्रक्रिया तीव्र बनाएको छ । मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेको भोलिपल्टै नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता असुल गर्न निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री घिसिङले मन्त्रालयमा जिम्मेवारी सम्हालेकै दिन डेडिकेटेड ट्रंकलाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगीहरूसँगको बक्यौता असुल्ने निर्णय गरेका थिए। सोही निर्णयको आधारमा मन्त्रालयले औपचारिक रूपमा पत्राचार गर्दै बक्यौता रकम तत्काल उठाउन निर्देशन दिएको बुझिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार मन्त्रालयबाट प्राप्त पत्रअनुसार बक्यौता उठाउने विषयमा प्राधिकरणको उच्च तहमा छलफल सुरु भएको छ। उनले भने, "ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई स्पष्ट निर्देशन आएको छ। अहिले आन्तरिक रूपमा कस्तो प्रक्रिया अपनाउने भन्ने बारेमा छलफल भइरहेको छ।"

पूर्व कार्यकारी निर्देशकका रूपमा रहँदा घिसिङले पनि बक्यौता असुलीलाई प्राथमिकता दिएका थिए । उनले नियमित रूपमा बक्यौता तिर्न बाँकी उद्योगीहरूको लाइन काट्ने र ताकेता गर्ने जस्ता कदम चालेका थिए। तर, त्यस बेलाको सरकारले उनलाई हटाई हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

यस पटक मन्त्रीको रूपमा पुनः जिम्मेवारी सम्हालेका घिसिङले प्राधिकरणलाई कडाइका साथ बक्यौता उठाउन निर्देशन दिएका हुन् ।