Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ओली संविधान दिवसमा ‘सार्वजनिक हुने’

भक्क्तपुरको गुन्डुमा बसोबासको तयारी

जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली संविधान दिवसमा सहभागी हुने भएका छन् । नेकपा (एमाले)को मुख्यालय च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा सार्वजनिक हुने एमालेका एक नेताले बताए ।

बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ । स्रोतका अनुसार भक्क्तपुरको गुन्डुमा उनको बसोबासको तयारी थालिएको छ । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ ।

पछिल्लोपटक अद्यावधिक तथ्यांकअनुसार आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना छ । त्यसमा प्रदर्शनकारीतर्फ २१ (२३ गतेको प्रदर्शनमा), अन्यतर्फ (२४ गतेको विध्वंसात्मक घटनापश्चात्) ३८, कैदीबन्दी र बालबन्दीतर्फ १० जना छन् । यसैगरी, घाइतेमा नेपाल प्रहरीतर्फ ३८४ छन् । त्यसमध्ये ३२० जना डिस्चार्ज भएका छन् भने ६४ जना उपचाररत छन् । सशस्त्रतर्फ २२६ जना घाइते भएकोमा २२१ डिस्चार्ज र पाँच उपचाररत छन् । आन्दोलनकारीतर्फ ११६ जना उपचाररत रहेको तथ्यांक छ ।

गृह मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट २६३ सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार ३४२ सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।

जेन–जी आन्दोलनको पहिलो दिन (२३ भदौ)मै सरकारको बर्बर दमनमा १९ युवा मारिएपछि पनि प्रधानमन्त्री केपी ओलीले देखाएको हठका कारण ठुलो जनधनको क्षति भएको उनकै सरकारका मन्त्रीहरूले बताएका छन् । १९ निहत्था युवा मारिएपछि बसेको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले घटनाप्रति माफी माग्नुपर्ने, तत्काल सामाजिक सञ्जाल खुलाउनुपर्नेजस्ता प्रस्ताव गरेका थिए । तर, मन्त्रीहरूका अनुसार ओलीले ‘सिनामंगलबाट आएका प्रदर्शनकारीसँग बन्दुक रहेको र प्रहरीले नभई उनीहरूले नै गोली हानेको’ ब्रिफिङ गर्दै ती प्रस्तावलाई ठाडै इन्कार गरेका कारण २४ भदौको आन्दोलनले ठुलो क्षतिसहित भयावह अवस्था निम्त्याएको हो ।