Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

गृहमन्त्री अर्यालद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरेका थिए । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए ।

गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन-जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्‍याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताए । अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने- 'आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउदै कानुन बमोजिम कर्तव्य पालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए । 

आम जनताहरूमा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनर्स्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवम् गृहमन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढिकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उनले उल्लेख गरे । प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास उनले व्यक्त गरे ।    

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताए ।