यसअघि दलाई लामाले पठाएका थिए प्रधानमन्त्री कार्कीलाई बधाई
केन्द्रीय तिब्बती प्रशासनका सिक्योङ पेन्पा सेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । तिब्बती धार्मिक गुरु दलाई लामाले कार्कीलाई बधाई दिएका थिए ।
सिक्योङले बधाईमा भनेका छन्, ‘तिब्बतभित्र र बाहिर रहेका तिब्बतीहरूका लागि, नेपाल राष्ट्र र नेपाली जनताको लागि यो महत्वपूर्ण मोडमा तपाईंको ऐतिहासिक नियुक्ति पहिलो अन्तरिम प्रधानमन्त्रीका रूपमा हुनु, हाम्रा लागि दुवै खुसीको क्षण र नेपालका सबै जनताका लागि उज्ज्वल भविष्यप्रतिको आशाको विषय बनेको छ।’
सिक्योङले नेपालमा रहेका तिब्बती शरणार्थीहरूको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्,‘म पनि हाम्रो ऐतिहासिक सम्बन्धको महत्त्वलाई पुनः दोहोर्याउन चाहन्छु। तर, जबर्जस्ती चीनको कब्जा र तिब्बतभित्रको अमानवीय दमनका कारण नेपालमा शरण लिन आएका तिब्बतीहरूको अस्तित्वमै चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परिरहेको छ भन्ने कुरा पनि जोड दिन चाहन्छु। हाम्रा दीर्घ प्रयासहरू विफल भए पनि, तपाईंको नेतृत्वले हामीलाई नयाँ आशा दिएको छ।’ सिक्योङले नेपाली जनताको त्याग, विशेष गरी जेनजी क्रान्तिका दौरान उनीहरूले पुर्याएको योगदानको पनि प्रशंसा गरेका छन् ।
उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा रहेका तिब्बती शरणार्थीहरूका लागि राहत मिल्ने आशा व्यक्त गरेका छन्। ‘म विश्वस्त छु कि तपाईंको नेतृत्वमा र नयाँ संरचनामा नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई केही राहत मिल्नेछ। हामी नेपाली राष्ट्रको विकासमा सकारात्मक रूपमा सहभागी हुने प्रतिबद्धता गर्दछौं, सिक्योङले लेखेका छन्।
शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा पनि उनले धन्यवाद भनेका छन् । भनेका छन्, ‘१९५९ यता तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनतालाई कृतज्ञता व्यक्त गर्नुभएको छ। म पनि हाम्रो ऐतिहासिक सम्बन्धको महत्त्वलाई पुनः दोहोर्याउन चाहन्छु।’
यसअघि दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा कार्कीलाई बधाई दिएका छन् । शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको थियो, ‘‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’