Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

संसद विघटनप्रति एमालेको असहमति

नेकपा एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको छ ।

शनिबार महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन्  ।

एमालेले विज्ञप्तिमा प्रतिनिधि सभा विघटनपछि संवैधानिक रिक्तता र राजनीतिक जटिलता उत्पन्न हुने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् सर्वोच्च अदालतले गरिसकेको छ ।'

त्यस्तै भदौ २३ र २४ का घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने तथा भ्रष्टाचार अनुसन्धानका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्तावमा भने पार्टी सहमत रहेको विज्ञप्तिमा उल्लेख छ ।