ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई सर्वोच्च अदालतले २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ।
अदालतले पाँच फरक मुद्दामा दोषी ठहर गर्दै उनलाई विद्रोहको षड्यन्त्र रचेको आरोपमा समेत कारबाही गरेको हो। पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले बोल्सोनारोलाई दोषी ठहर गरेका हुन्।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध रहेका बोल्सोनारोको राजनीतिक भविष्य यस फैसलासँगै अन्त्य भएको विश्लेषण गरिएको छ। यो पहिलो पटक भने होइन जब बोल्सोनारोमाथि शासन र अधिकारीविरुद्ध गम्भीर आरोप लागेका हुन्।
१९८६ मा उनी सेनामा कार्यरत रहँदा कम तलबको विषय उठाउँदै समाचार पत्रिकालाई अन्तर्वार्ता दिएका थिए, जसलाई सैन्य नियमविपरीत मानिएको थियो। त्यतिबेला उनको कदमको प्रशंसा भए पनि १९८७ मा उनी अर्को मुद्दामा मुछिएका थिए।
सोही पत्रिकाले उनलाई आफ्ना साथीहरूसँग मिलेर रियो दि जेनेरियोमा सैन्य एकाइहरूमा बम राख्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो। प्रकाशित स्केचहरू समेत बोल्सोनारोले आफैं बनाएको दाबी गरिएको थियो।
सन् २०१८ मा सैन्य अधिकारीहरूले उनलाई दोषी ठहर गरे पनि सर्वोच्च सैन्य अदालतका अनुसन्धान अधिकृतहरूले निर्दोष ठहर गर्नुपर्ने राय दिएका थिए। अन्ततः अदालतले उनलाई निर्दोष ठहर गर्दै मुक्त गर्यो।
त्यसपछि १९८९ मा बोल्सोनारो ब्राजिलको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।