Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

आवश्यकताको सिद्धान्त अनुसार सुशीला कार्की प्रधानमन्त्री, भोलि बिहानै शपथ

आज बेलुकी शीतल निवासमा भएको महत्वपूर्ण छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुगेका छन्।

संविधानको कुनै धारामा आधारित नभई "आवश्यकताको सिद्धान्त" अनुसार यस्तो निर्णय हुने भएको स्रोतले जनायो। यससँगै बाहिर फैलिएका हल्ला खारेज हुने र गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपति पौडेल आफ्नो कार्यकालभर शीतल निवासमै रहने निश्चित भएको बताइएको छ। संसद विघटन नहुने र संविधान पनि विद्यमान अवस्थामा कायम रहने स्पष्ट संकेत राष्ट्रपति कार्यालयले दिएको छ।

स्रोतका अनुसार भोलि बिहान ९ बजेसम्ममा आवश्यकताको सिद्धान्तका आधारमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरी शपथ गराइनेछ।

शीतल निवासको अघिल्लो भाग अघिल्लो आगलागीले क्षतिग्रस्त भए पनि पछाडिपट्टि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पालामा बनेको नयाँ भवनमा राष्ट्रपति पौडेल निरन्तर बस्दै आएका छन्।

त्यही निवासमै आज भएको घनिभूत छलफलपछि राजनीतिक दलहरूको सहमतिसहित सुशीला कार्कीलाई खिलराज रेग्मीको नमूनामा सरकारको नेतृत्व दिने निष्कर्ष निकालिएको हो।