Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जेनजीलाई मेयर हमालको अपिल

धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले ‘जेनजी पुस्ता’ का आन्दोलनकारीहरूलाई आन्दोलन सफल भएकोमा बधाई दिँदै सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अपिल गरेका छन्। उनले आन्दोलनकारीहरूलाई जितको खुसी मनाउँदै गर्दा सरकारी र सार्वजनिक सम्पत्तिको नोक्सान नगर्न आग्रह गरेका हुन्।

मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेको अपिलमा सार्वजनिक सम्पत्ति जनताकै करबाट बनेको र यसलाई नोक्सान गर्दा अन्ततः जनतालाई नै घाटा हुने कुरामा जोड दिएका छन्। उनले भने, ‘यो जति सार्वजनिक सम्पत्ति छन्, यी सम्पत्ति सबै हाम्रै हुन्। हाम्रै करबाट उठेको पैसाबाट बनाएको चीज हुन्।’

भ्रष्टाचार गरेर आर्जन गरिएको निजी सम्पत्तिमाथि आन्दोलन केन्द्रित गर्नुलाई त्यति नराम्रो नमानिने तर सार्वजनिक सम्पत्तिको नोक्सान गर्नुको कुनै औचित्य नभएको उनको भनाइ छ। उनले आन्दोलनमा घुसपैठको सम्भावना रहने भएकाले थप संयम अपनाउन पनि अनुरोध गरेका छन्।

‘जे भयो आजसम्म भयो, भोलिदेखि यो नहोस्,’ उनले अपिलमा भनेका छन्। उनले धनको क्षति हुनुभन्दा अगाडि जनको क्षति भएको कुरा पनि उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबैलाई आग्रह गरेका छन्।