राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुनअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र कारागारबाट रिहा भएको स्पष्ट पारेका छन्।
मंगलबार दिउँसो नख्खु कारागारबाट निस्किएका लामिछानेले पत्नी निकिता पौडेलमार्फत सन्देश जारी गर्दै भनेका छन्, "सरकारले कानुन बमोजिम प्रक्रिया पुरा गरेर पत्र थमाएपछि मात्र म कारागारबाट बाहिरिएको हुँ।"
हाल देशभर उग्र बनेको जेनजी आन्दोलनसँग लामिछानेको रिहाइ पनि जोडिएपछि व्यापक चासो उत्पन्न भएको छ। सोमबारदेखि तीव्र बनेको आन्दोलन मंगलबार झनै आक्रोशित देखिएको थियो।
सामाजिक सन्जाल मार्फत निकिताले लेखेकी छिन्: मेरो श्रीमान रवि लामीछानेको अपिल:
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।
आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।
एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।