Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

जेन-जी आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य पक्राउ

जेन-जी पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा सञ्चालन गरिरहेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाललाई पक्राउ गरेको छ।

परिवारका अनुसार सोमबार दिउँसो बानेश्वरको आन्दोलनमा सहभागी भएका हमाललाई साँझ बूढानीलकण्ठ पुगेको बेला प्रहरीले पक्राउ गरेको हो।

हमाल राप्रपाका सक्रिय युवा नेता हुन्, जो समय-समयमा राजावादी आन्दोलनमा पनि सहभागी हुँदै आएका थिए। जेन-जी आन्दोलनमा देखिएको उनको उपस्थिति र अभिव्यक्तिहरू पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक चर्चामा छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई "सरेन्डर गर्न" आग्रह गरेको टिकटक भिडियो भाइरल बनेको थियो। त्यसैगरी, अर्को भिडियोमा हमालले आन्दोलनमा भएको क्षतिको जिम्मेवारी आफू लिन तयार रहेको र राजनीतिशास्त्र पढेको व्यक्ति भएकाले देशको कार्यकारी प्रमुख बन्ने क्षमता आफूमा रहेको दाबी गरेका छन्।

हाल हमाललाई कहाँ राखिएको छ भन्ने बारेमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन। प्रहरीले यसबारेमा औपचारिक टिप्पणी गर्न बाँकी छ।