काठमाडौंको नयाँ बानेश्वरमा आज बिहानदेखि पुनः जेन्जी (Gen Z) पुस्ताले प्रदर्शन सुरु गरेका छन्। प्रदर्शनको दोस्रो दिन पनि युवा सडकमा उत्रिएका हुन्। बिहानैदेखि समूहमा जम्मा भएर उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जनाको मृत्यु भएको छ भने ४२१ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
यसबीच, प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ८:३० बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यू आदेश जारी गरिसकेको छ। कर्फ्यू उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
प्रदर्शनकारीले भने कर्फ्यू आदेशलाई अवज्ञा गर्दै विरोध जारी राखेका छन्। उनीहरूको माग के हो भन्ने विषयमा स्पष्ट धारणा आउन बाँकी भए पनि सामाजिक सञ्जालमा ‘सिस्टम परिवर्तन’ र ‘न्यायको माग’ भन्ने नारा प्रमुख रुपमा देखिएको छ।
स्थिति तनावग्रस्त बन्दै गइरहेको छ भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिसमेत नयाँ बानेश्वर क्षेत्रमा देखिएको छ।
