काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सामाजिक सञ्जाल प्रयोगबारे व्यंग्य गर्दै प्रश्न उठाएका छन्।
शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रममा सहभागिता जनाउँदै केही तस्बिरसहित फेसबुकमा स्टाटस पोस्ट गरेका थिए।
पोस्टमा देउवाले लेखेका छन्, “आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।”
उक्त पोस्टमा बालेन शाहले कमेन्ट गर्दै लेखेका छन्, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी?” उनले थपे, “सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त!”
बालेनको उक्त टिप्पणीप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आइरहेको छ। देउवाको पोस्टमा बालेनले कमेन्ट गरेसँगै इन्गेजमेन्ट (लाइक, कमेन्ट, सेयर) उल्लेखनीय रूपमा बढेको देखिएको छ।
बालेनको यो टिप्पणी हालै चर्चामा आएको ‘भीपीएन’ प्रकरणसँग जोडिएको संकेत गरिएको बुझिन्छ। यसअघि केही नेपाली नेताहरू विदेशी भूमिबाट सामाजिक सञ्जाल प्रयोग गरेको आरोप लाग्दै आएको थियो।