नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका मन्त्री अहिले नै फेरबदल नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, "अहिले हुँदैन ।" पत्रकारले उनलाई संविधान संशोधनबारे पनि प्रश्न गरेका थिए । जवाफमा उनले संविधान संशोधनका लागि दुईतिहाइ बहुमत चाहिने भएकाले समय लाग्ने बताए ।
देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधानले कुनै बाधा नगरेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किएकी छन्, यद्यपि एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किसकेका छन् ।
यी घटनाक्रमले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिजस्ता संवैधानिक पदमा बसेका व्यक्तिहरूको राजनीतिक पुनरागमनलाई लिएर बहस तीव्र भएको छ । पत्रकारले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक संलग्नताले संविधानको औचित्य समाप्त हुने हो कि भन्ने प्रश्न उठाउँदा देउवाले संविधानमा यो विषयमा स्पष्ट व्यवस्था नभएको बताए । उनले भने, ‘मलाई धेरै कुरा थाहा छैन । संविधानमा (राजनीतिमा फर्किन) पाइन्छ भनिएको पनि छैन, पाइन्न भनिएको पनि छैन । ‘
यसबारे थप आफूलाई कुनै जानकारी नभएको बताए । "मलाई केही थाहा छैन," उनले भने । देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक रहेको र त्यसका लागि दलहरूबीच छलफल भइरहेको बताए ।
उनले कांग्रेसको महाधिवेशन हुने र त्यसमा धेरै चिन्ता नगर्न आग्रह गरे । सामाजिक सञ्जाल बन्द भएको विषयमा उनले दर्ता प्रक्रियामा आउन मात्र भनिएको सुनाए ।