Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले सरकारले अभिव्यक्ति स्वतन्त्रता दबाउने, विरोधका स्वरलाई मुद्दा लगाएर थुन्ने र आफ्नालाई जोगाउने प्रवृत्तिलाई संस्थागत गर्दै आएको आरोप लगाए।

“संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ,” उनले लेखेका छन्, “यो कदम न केवल संविधानविरोधी, जनविरोधी र अलोकतान्त्रिक छ, यो सर्वोच्च अदालतको आदेशको समेत अपव्याख्या हो।”

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल बन्दको निर्णयले प्रवासी श्रमिक र परिवारबीचको सम्पर्कलाई समेत असहज बनाएको उल्लेख गरेका छन् । उनले स्पष्ट रूपमा सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमन को पक्षमा नेकपा माओवादी केन्द्र अडिग रहेको बताउँदै, संसदमा विचाराधीन विधेयकबारे सरोकारवालाको सहभागिता सुनिश्चित गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।


“कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो,” उनले लेखेका छन्, “संविधान प्रदत्त अधिकार र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै, म सरकारले गरेको यो निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु।”